काठमाडौँ । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव छन् ।
नेपाल समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै परेको छ । नेपालले नोभेम्बर २० मा भारत ‘ए’ सँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ भने नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल नोभेम्बर २९ मा हुनेछ ।
नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कप र एसिया कप दुवैका लागि छनोट भएको थियो । प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो स्थान हासिल गरेको हङकङले पनि प्रतियोगितामा स्थान बनाएका छन् ।





