काठमाडौं – नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर उठाउन सुरु गरिएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरी लागू गरेको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गरेबापत शुल्क उठाउन थालिएको आयोजनाले जनाएको छ।
निर्धारित शुल्कअनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। वर्ग २ मा पर्ने मिनी बस तथा मिनी टिपर र ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, वर्ग ३ मा पर्ने बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। वर्ग ४ मा पर्ने मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्नेछ। नयाँ व्यवस्था लागू भएसँगै आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनले आफ्नो वर्गअनुसार तोकिएको शुल्क तिरेर मात्र सुरुङमार्ग प्रयोग गर्नुपर्नेछ।




