अर्नब चक्रवात विस्तारै कमजोर, मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान

काठमाडौं – अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसममा क्रमिक सुधार आउने महाशाखाको भनाइ छ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भए पनि वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्