दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाले चालु आर्थिक वर्षमा कम्तीमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित अपिहिमाल पर्यटन उत्सव–२०८३ आयोजना गर्ने भएको छ। गाउँपालिकाको वडा नम्बर १ स्थित अपिहिमाल आधार शिविरमा आगामी कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने उत्सव सञ्चालन हुन लागेको हो।
उत्सवको तयारी तथा व्यवस्थापनबारे गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो। उहाँका अनुसार अपिहिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो।
गाउँपालिकाले उत्सवलाई औपचारिक कार्यक्रम र मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको अभियानका रूपमा अघि सारेको छ। उत्सवमा सहभागी पर्यटकले अपिहिमालको प्राकृतिक सुन्दरता अवलोकन गर्ने, तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने वातावरण बनाइने अध्यक्ष बोहराले बताउनुभयो।
उत्सवमार्फत अपिहिमाललाई सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटनबाट स्थानीय आयआर्जन र दिगो रोजगारी सिर्जना गर्ने तथा मौलिक कला, भाषा, संस्कृति र साहित्यको संरक्षण गर्ने लक्ष्य राखिएको छ। स्थानीय कृषि उपज, हस्तकला र मौलिक उत्पादनको बजारीकरण तथा व्यावसायीकरणमा सहयोग पुर्याउनुका साथै जलवायु परिवर्तनले हिमाली वातावरण, पर्यटन र स्थानीय जीविकोपार्जनमा पारेको प्रभावबारे सचेतना बढाउने उद्देश्यसमेत उत्सवले लिएको छ।
मुख्यमन्त्री प्रमुख अतिथि, शिक्षामन्त्रीले खेलकुद उद्घाटन गर्ने
उत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुने गाउँपालिकाले जनाएको छ। संघीय तथा प्रदेश सरकारका मन्त्री र सांसदलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ।
यसअघि गाउँपालिकाले उत्सवको उद्घाटनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो। तर, उहाँ व्यस्तताका कारण उपस्थित हुन नसक्ने भएपछि मुख्यमन्त्री भट्टलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको जनाइएको छ। उत्सवको दोस्रो दिन हुने खेलकुद कार्यक्रम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गर्ने गाउँपालिकाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
उत्सवमा संघीय सरकारका मन्त्री, सातवटै प्रदेशका पर्यटनमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संघीय तथा प्रदेश सरकारका सचिव, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख, दार्चुलास्थित सरकारी कार्यालयका प्रमुख, पर्यटन तथा होटल व्यवसायी, उद्यमी, गैरसरकारी संस्था, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र कलाकारसहित करिब पाँच सय पाहुनालाई निमन्त्रणा गरिएको छ। अतिथिहरूको सहभागिता सुनिश्चित गर्न निरन्तर सम्पर्क भइरहेको गाउँपालिकाले जनाएको छ।
तीन दिनसम्म विविध कार्यक्रम
उत्सवको पहिलो दिन कात्तिक १७ गते उद्घाटन समारोह, स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन, साहित्यिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन्। दोस्रो दिन कात्तिक १८ गते हाई अल्टिच्युडमा मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ।
तेस्रो दिन कात्तिक १९ गते योग तथा ध्यान शिविर, जलवायु संवाद र समापन कार्यक्रम आयोजना गरिनेछ। जलवायु संवादमा जलवायु परिवर्तनले हिमाली क्षेत्रको पर्यटन र स्थानीय जनजीवनमा पारेको प्रभाव तथा त्यसको अनुकूलनका उपायबारे छलफल गरिने गाउँपालिकाले जनाएको छ।
आवास, खानपान र स्थानीय उत्पादनको व्यवस्था
उत्सवमा सहभागी पाहुनाको व्यवस्थापनका लागि अपिहिमाल आधार शिविर क्षेत्रमा रहेका होटलको क्षमता सर्वेक्षण भइरहेको छ। होटलको क्षमताले पाहुनाको चाप धान्न नसक्ने अवस्था आएमा थप अस्थायी टहरा तथा टेन्ट निर्माण गर्ने पूर्वतयारी गरिएको गाउँपालिकाले जनाएको छ।
होमस्टे तथा होटलमा खाना र बसोबासको दररेट निर्धारण गरी सार्वजनिक गरिएको छ। होमस्टे सञ्चालन भएका क्षेत्रका आमा समूहलाई स्थानीय भेषभूषामा सजिएर पाहुनाको स्वागत तथा सत्कार गर्न आग्रह गरिएको छ। उत्सवस्थलमा स्थानीय मौलिक परिकार, हस्तकला तथा कृषि उत्पादनको प्रदर्शनी र बिक्रीका लागि स्टलसमेत राखिनेछ। यसबाट स्थानीय उत्पादनको बजारीकरण र आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पदमार्गमा हेल्प डेस्क, स्वास्थ्य र सुरक्षाको तयारी
उत्सवमा सहभागी हुने पर्यटकको यात्रा सहज बनाउन मकरीगाड, घुसा र सितिमा हेल्प डेस्क स्थापना गरिएको छ। धौलीओडार र अपिहिमाल आधार शिविरमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
उच्च उचाइमा हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमलाई ध्यानमा राख्दै प्राथमिक उपचारका औषधि, स्वास्थ्य सामग्री र पोर्टेबल अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिनेछ। शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट सुरक्षाकर्मी उपलब्ध गराइदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको प्रेस नोटमा उल्लेख छ।
उत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्षको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। तयारीलाई प्रभावकारी बनाउन गाउँपालिकाका शाखा प्रमुख कर्मचारीको संयोजकत्वमा विषयगत उपसमितिसमेत गठन गरी काम अघि बढाइएको छ।
तीनदिने उत्सवमार्फत अपिहिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली जीवनशैली, स्थानीय संस्कृति र पर्यटनको सम्भावनालाई व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने गाउँपालिकाको अपेक्षा छ।






