चक्रवात ‘अर्नब’को प्रभावले शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा आजदेखि शनिबारसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको छ। भारतबाट नेपालतर्फ अघि बढिरहेको मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा बदली सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। आज दिउँसोसम्म मध्यम वर्षा हुने र साँझदेखि शनिबारसम्म केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात हुने भए पनि भारतमा जस्तो शक्तिशाली हावाहुरी चल्ने सम्भावना छैन। नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको मौसमी प्रणाली नेपालसम्म आइपुग्दा कमजोर हुने उहाँको भनाइ छ।

उहाँका अनुसार आज साँझदेखि देशका विभिन्न स्थानमा वर्षा सुरु हुने र शुक्रबार वर्षाको तीव्रता थप बढ्न सक्नेछ।

सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको मौसमी बुलेटिनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

धान नकाट्न र यात्रा गर्दा सतर्क रहन आग्रह

सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै मौसमविद्हरूले शनिबारसम्म धान नकाट्न, उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन सुझाव दिएका छन्। अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि उनीहरूले आग्रह गरेका छन्।

वर्षाका कारण सडक यातायात प्रभावित हुन सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्