काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा ओपनर मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । उनी ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे । उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै, सैफ हसनले ३९ बलमा ४० रन बनाउँदै अविजित रहे । मोइन र सैफले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए ।
जनकपुरले ७ रन जोड्दा ओपनर तृतराज दासलाई ५ रनमा गुमाएको थियो । त्यसपछि टोलीको स्कोर ३७ रन पुग्दा मयन यादव ९ रनमा आउट भए । त्यसपछि मोइन र सैफले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए । काठमाडौंका रिपोन मोन्डलले एक विकेट लिए ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो ।
काठमाडौंलाई सस्तोमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । राहुलले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे ।
त्यस्तै, सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे ।
काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । रसिद खानले १७, स्मित पटेलले १३, सुमित महर्जनले १०, हरिशंकर शाहले ९, रिपोन मोन्डलले ९, कप्तान करण केसीले ८, जहानदाद खानले ५ र शाहब आलमले अविजित ४ रन बनाए । मोहम्मद आदिल आलम पहिलो बलमै आउट भए ।
काठमाडौंले सुरुदेखि नै नियमित विकेट गुमाउँदा ठूलो साझेदारी बनाउन सकेन । ६ रन हुँदा साम हिजलेट र १९ रन पुग्दा हरिशंकर शाह आउट भएका थिए । त्यसपछि पनि काठमाडौंको विकेट पतन रोकिएन र टोली सामान्य योगफलमै समेटियो ।
यसअघि आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्स कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाडौंविरुद्धको जितसँगै जनकपुरले प्रतियोगितामा पहिलो अंक जोडेको छ ।
यसैबीच, बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।




