चक्रवातको प्रभावले आज रातिबाट भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बङ्गालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्दै गएको भन्दै नेपालमा पर्न सक्ने सम्भावित प्रभावलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार चक्रवात भारतको भूभागमा प्रवेश गरिसकेको छ। यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा देखिन सक्ने अनुमान गरिएको छ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको जनाइएको छ।

चक्रवातको प्रभावले कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ तथा हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ। सम्भावित प्रतिकूल मौसमका कारण जनजीवन, यातायात, कृषि तथा पर्वतीय पर्यटन गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्