काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्।
जनकपुर र काठमाडौंबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा काठमाडौं गोर्खाजले आज पहिलो खेल खेल्न लागेको हो। जनकपुर बोल्ट्स भने आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो। त्यसैले जनकपुर आज जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
यस्तै, आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ। कर्णालीले यसअघि जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा जित निकालेको थियो। विराटनगर किंग्स भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।
आजका दुवै खेल टोलीका लागि महत्वपूर्ण हुनेछन्। जनकपुर र विराटनगर जितको खोजीमा मैदान उत्रँदा काठमाडौंले प्रतियोगिताको सुरुआत जितबाट गर्ने लक्ष्य राख्नेछ।





