काठमाडौं – आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको भए पनि केही समयपछि क्रमशः हट्दै जाने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यसैबीच, मौसमविद्हरूले आगामी बुधबार वा बिहीबारदेखि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको बताएका छन्। वर्षाको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमसम्बन्धी सूचनामा ध्यान दिनु उपयुक्त हुनेछ।




