भक्तपुर – विजयादशमीको अवसरमा आज भक्तपुरको तलेजुमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। तलेजुमा विजयादशमीको शुभ साइतमा सबैभन्दा पहिले एकान्त कुमारी बज्राचार्यले टीका लगाउनुभएको थियो। त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले कुमारीको हातबाट टीका ग्रहण गर्नुभएको तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो।
पुजारी, नाइके, गुरु तथा पुरोहितले टीका लगाएपछि सर्वसाधारणका लागि टीका ग्रहण गर्ने व्यवस्था खुला गरिएको थियो। त्यसक्रममा स्थानीय भक्तजन तथा सर्वसाधारणले एकान्त कुमारीको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए। टीका ग्रहण कार्यक्रम सम्पन्न भएपछि दुर्गा विसर्जन गरी तलेजु भवानीलाई दसैँघरबाट मूलचोकको दक्षिणतर्फ रहेको देवगृहमा भित्र्याइएको जोशीले बताउनुभयो। फूलपातीका दिन तलेजु भवानीलाई देवगृहबाट मूलचोकको पश्चिमतर्फ रहेको कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो।
जोशीका अनुसार राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले विधिपूर्वक तलेजु भवानीसहित अन्य देवीदेवतालाई देवगृहमा भित्र्याएका हुन्। यस क्रममा १९ जना पुजारीले परम्परागत जामा, पगरी, भोटो र खास्टोसहितका वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरबाट देवगृहमा स्थानान्तरण गरेका थिए।






Welcome to popups plugin