शीर्ष ६ मा उक्लिन नेपालले आज ओमानलाई हराउनैपर्ने

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । लिग-२ को अंकतालिकामा शीर्ष ६ मा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

शृङ्खलाको सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल शनिबार भएको तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । उक्त हारसँगै नेपालको शीर्ष ६ मा रहने सम्भावना कमजोर बनेको छ । नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने सातौँ स्थानमा झरेको छ । आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ ।

लिग–२ को शीर्ष ६ मा रहने टोलीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण छ । नेपालले यसअघि शृङ्खलामा क्यानडालाई पहिलो खेलमा र ओमानलाई दोस्रो खेलमा पराजित गरेको थियो । अन्तिम खेलमा ओमानलाई हराउँदै शीर्ष ६ मा फर्किने लक्ष्यसहित नेपाल मैदानमा उत्रनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्