गृहमन्त्री गुरुङको घोषणा: प्रहरीको सेवा सुविधा र वृत्ति विकासमा सुधार गरिने

काठमाडौँ : माननीय गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न कानुनी सुधार, सेवा सुविधाको विस्तार तथा प्रविधि र पूर्वाधारमा लगानी सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । असोज ३० गते नक्सालस्थित प्रहरी मुख्यालयमा आयोजित ७१ औँ नेपाल प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नयाँ कानुनमार्फत प्रहरी कर्मचारीको सेवा अवधि, वृत्ति विकास र सेवा सुविधामा सुधार गरिने जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, “नेपाल प्रहरीको ७१ वर्षको सेवा, त्याग र बलिदानको स्मरण गर्दै कर्तव्य पालनका क्रममा ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु। देशमा शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा विपद्का समयमा उद्धार र राहतमा खटिने नेपाल प्रहरीको भूमिका महत्वपूर्ण छ। गत भदौ १० गते रसुवा–भोटेकोशी, त्यसपछि मनाङ–मुस्ताङ र बुढीगण्डकीमा आएको भीषण बाढीलगायत विगतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा वा बेपत्ता हुँदा समेत विचलित नभई खटिनुभएका प्रहरी कर्मचारीको साहस, धैर्य र समर्पणको म उच्च मूल्याङ्कन गर्दछु।”

गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीको सेवा अवधि, आवास तथा स्वास्थ्य सुविधामा सुधार गर्नुका साथै सरुवा र बढुवा प्रक्रियालाई व्यवस्थित तथा पारदर्शी बनाउने सरकारको योजना रहेको बताउनुभयो। साथै, प्रहरी कर्मचारीको काम र नतिजाका आधारमा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्न नयाँ प्रहरी विधेयकमा काम भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रहरीको वर्दी डर र त्रासको नभई, आशा, भरोसा र नागरिक-प्रहरी सहकार्यको प्रतीक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । सही कार्य गर्ने प्रहरी कर्मचारीलाई सरकारले साथ दिने तर गलत कार्यको संरक्षण नहुने स्पष्ट पार्दै उहाँले नागरिकको विश्वास जित्ने व्यावसायिक र आदर्श नेपाल प्रहरी निर्माण गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्