काठमाडौँ – नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीको मान्यता प्राप्त गरेको जानकारी दिएको हो।
यसअघि आयोजना भएका एनपीएलका दुई संस्करणले आईसीसीको आधिकारिक मान्यता पाएका थिएनन्। नयाँ मान्यता प्राप्त भएसँगै लिगमा सहभागी फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडी अनुबन्ध गर्न थप सहज हुने भएको छ।
यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा टेस्ट राष्ट्रका बढीमा चार खेलाडी मात्र अनुबन्ध गर्न सकिने अनुमति दिएको थियो। अब भने फ्रेन्चाइज टोलीहरूले अनुबन्ध गर्न पाउने विदेशी खेलाडीको सङ्ख्यामा कुनै सीमा नलाग्ने जनाइएको छ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको मान्यताले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान र विदेशी खेलाडीको सहभागिता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




