काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। पार्टीले शनिबार विभिन्न १३ वटा केन्द्रीय विभागमा प्रमुख तथा सदस्यहरूको समेत मनोनयन गरेको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छनोट समिति गठन तथा विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो।
रास्वपाका अनुसार महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठन गरिएको केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य रहेका छन्। सातै प्रदेशका पार्टी सभापतिहरूलाई समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ। बैठकले पार्टीका विभिन्न विभागमा प्रमुख तथा सदस्यहरूको जिम्मेवारीसमेत तोकेको छ। प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्यलाई जिम्मेवारी दिइएको छ।
यस्तै, सुशासन तथा राज्य व्यवस्था विभागको प्रमुखमा सुदिप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार साह (महोत्तरी) र आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाललाई जिम्मेवारी दिइएको छ।
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डा. धनञ्जय रेग्मी तथा सदस्यमा सम्राट बुढाथोकीलाई जिम्मेवारी दिइएको छ। वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।
रास्वपाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनको तयारीलाई तीव्रता दिने उद्देश्यले उम्मेदवार छनोट समिति गठन तथा विभागीय जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ। स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्मका गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने पार्टीको तयारी देखिन्छ।




