काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयक, वार्षिक प्रतिवेदन, प्रश्नोत्तर तथा विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्तावमाथि कार्यवाही हुने कार्यसूची छ । सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन् । त्यसैगरी, गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछिन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विभिन्न स्वास्थ्यसम्बन्धी चार विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उनले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछिन् ।
प्रतिनिधिसभाको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत रहेको छ । सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना स्वीकृतिका लागि पेस गर्ने तथा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यक्रम पनि रहेको छ । यता, राष्ट्रियसभाको बैठकमा पनि मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन् । प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा गरिएको संशोधनलाई सहमति प्रदान गर्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
राष्ट्रियसभाको आजको बैठकबाट ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यक्रमसमेत तय भएको छ । यससँगै दुवै सदनका बैठकमा विभिन्न विधेयकलाई अघि बढाउने तथा आवश्यक संसदीय प्रक्रिया पूरा गर्ने कार्यसूची रहेको छ ।




