एमाले सचिवालय बैठक आज, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्दै छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठककै बीच एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सचिवालय बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकपछि मध्याह्न साढे १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने तयारी रहेको उनले जानकारी दिएका छन् ।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । बैठक आजै समापन गर्ने तयारी एमालेको छ । सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ । यससँगै केन्द्रीय कमिटीमा मनोनयन गर्ने व्यक्तिका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।

यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा पनि सचिवालयमा छलफल हुने भएको छ । सचिवालयमा छलफलपछि स्थायी कमिटी तथा पोलिटब्युरो गठनसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी रहेको बताइएको छ । केन्द्रीय कमिटी बैठकमा यसअघि अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय सदस्य मनोनयन, केन्द्रीय विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायत विषयमा छलफल हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्