काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा सुरु भएको जनाएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भई निर्वाचनसमेत सम्पन्न भएको छ। ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुमपश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार आज सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि असोज ४ गते पनि जारी रहने कटुवालले जानकारी दिए। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने कार्यतालिका रहेको छ। वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले आगामी महाधिवेशनका लागि नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउनेछन्।



