काठमाडौं । यही असोज ८ गतेदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको छ। केही मौसमविद्ले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म वर्षाको सम्भावना रहेको भन्दै किसान तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ।
त्यस्तै मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले बङ्गालको खाडी र अण्डमान सागरको बीचमा विकसित भइरहेको न्यून चापीय प्रणाली केही दिनमा चक्रवाती आँधीमा परिणत हुन सक्ने सम्भावना रहेको सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ। उक्त प्रणाली चक्रवातमा परिणत भए त्यसको नाम ‘अर्नब’ रहने र त्यसको प्रभाव असोज ८, ९ र १० गते नेपालमा पर्न सक्ने उहाँको भनाइ छ।
उपाध्यायले ती दिनमा सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ। यद्यपि, वर्षाको वास्तविक तीव्रता कति हुने भन्ने विषय अझै स्पष्ट भइनसकेको उहाँले उल्लेख गर्नुभएको छ।
यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भने उक्त मौसमी प्रणालीको अवस्था अहिले नै पूर्ण रूपमा स्पष्ट भइनसकेको जनाएको छ। महाशाखाका अनुसार प्रणाली नेपालबाट निकै टाढा रहेको छ। यद्यपि, असोज ६ गतेपछि यसको आंशिक प्रभाव पूर्वी नेपालबाट सुरु हुन सक्ने र हप्ताको अन्त्यतिर कोशी, मधेस तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने साप्ताहिक मौसम बुलेटिनमा उल्लेख छ।
मौसमविद्हरूका अनुसार प्रणालीको प्रभाव पहाडी तथा हिमाली क्षेत्रभन्दा मध्य नेपालको तराई र काठमाडौं उपत्यकामा बढी पर्न सक्ने अनुमान गरिएको छ। तर प्रणालीको दिशा र प्रभावमा परिवर्तन हुन सक्ने भएकाले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाको पछि नलागी मौसम तथा जलविज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।




