काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ।
बाढी तथा विपद्का घटनामा अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, २७९ जना घाइते भएका छन्। हालसम्म विपद् प्रभावित क्षेत्रबाट ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढीपछि सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेको छ।




