हेटौँडा-काठमाडौं आवागमन व्यवस्थापन गर्न दुई राजमार्गमा एकतर्फी सवारी सञ्चालन

File Photo

हेटौँडा – मकवानपुरको हेटौँडाबाट विभिन्न राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको चाप बढेपछि दुई प्रमुख सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मंगलबारदेखि लागू हुने गरी १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो। पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारीको चाप मकवानपुरका वैकल्पिक मार्गमा बढेको हो। सवारीको अत्यधिक चापलाई व्यवस्थित गर्दै यात्रुको सुरक्षा र आवागमन सहज बनाउन नयाँ व्यवस्था गरिएको प्रशासनले जनाएको छ। मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार सडकको क्षमता, मौसमको अवस्था तथा यात्रुको सुरक्षालाई ध्यानमा राखेर दुई मार्गमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको हो।

प्रशासनले कान्ति लोकपथ हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारी साधनले साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको छ। यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधनले हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको त्रिखण्डीनजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारी साधनलाई बेलिब्रिज प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट आवतजावत गर्न प्रशासनले आग्रह गरेको छ। विपद्को अवस्था कायमै रहेकाले प्रशासनले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै राजमार्गमा सवारी चालकलाई धैर्य र अनुशासनपूर्वक पालोअनुसार सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन अनिवार्य रूपमा पालना गर्न आग्रह गरिएको छ। धादिङको कृष्णभीरमा सडक अवरुद्ध हुँदा काठमाडौं जाने तथा काठमाडौं हुँदै हेटौँडा आउने सवारीले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था बनेको छ। यसले मकवानपुरका सडकमा समेत सवारीको चाप बढाएपछि प्रशासनले मार्गअनुसार सवारी विभाजन गरी आवागमन व्यवस्थित गर्ने प्रयास गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्