काठमाडौं – तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म देशका विभिन्न स्थानबाट ९०३ जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव फेला परेको छ।
बाढीपहिरोमा परी अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार हालसम्म ४ हजार २४७ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा सर्वसाधारणसहित विदेशी नागरिकसमेत छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना छन्। त्यस्तै रसुवाबाट ८६५, नुवाकोटबाट १ हजार ५५८ जना तथा विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यसैगरी मकवानपुरका ६५, विदेशी नागरिक ५९२, विदेशीसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन्।
१० हजारभन्दा बढीको उद्धार
विनाशकारी बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
नेपाली सेनाले मात्रै हवाई माध्यमबाट ३ हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको उद्धार गरेको छ। आइतबार विभिन्न जलविद्युत् आयोजनामा फसेका १५ चिनियाँ र ७ भारतीय नागरिकको समेत हवाई उद्धार गरिएको थियो। उद्धार तथा राहतका लागि सोमबार बिहान ९ बजेसम्म १७ वटा हवाई उडान सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।
२६७ घाइते, १५६ जना डिस्चार्ज
बाढीमा परी घाइते भएका २६७ जनामध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विपद्पछि बेपत्ता भएका नागरिकको खोजी, उद्धार तथा राहत वितरणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हालसम्म २० हजार ८१९ जना सुरक्षाकर्मी खोज तथा उद्धार अभियानमा खटिएका छन्।
त्यसमध्ये नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना परिचालित छन्। बाढीका कारण भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म ठूलो मानवीय तथा भौतिक क्षति पुगेपछि बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावित क्षेत्रमा राहत पुर्याउने कामलाई तीव्रता दिइएको छ। सरकारले जोखिमयुक्त नदी तथा तटीय क्षेत्रमा अझै सतर्कता अपनाउन आग्रह गर्दै खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ।



