कञ्चनपुरसहित चार जिल्लामा धेरै भारी वर्षा, बाढीको जोखिम बढ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक र अर्घाखाँचीका केही स्थानका साथै धादिङ-गोरखा सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा मापन भएको छ। कञ्चनपुरमा पछिल्लो २४ घण्टामा १४१ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। मौसम विज्ञानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षा मानिन्छ। धादिङ र गोरखाको सीमा क्षेत्रमा पर्ने आरुघाटमा १२४.४ मिलिमिटर, सिन्धुपाल्चोकमा १२३.२ मिलिमिटर र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा मापन भएको छ।

सिन्धुपाल्चोकमा पछिल्ला केही दिनदेखि लगातार मध्यमदेखि धेरै भारी वर्षा भइरहेको विभागले जनाएको छ। यद्यपि, शनिबार रातिदेखि बिहानसम्म भने कतिपय क्षेत्रमा वर्षाको मात्रा घट्दै गएको छ। पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका केही जिल्ला तथा गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा समेत भारी वर्षा भएको छ। अन्य क्षेत्रमा भने मध्यमदेखि सामान्य वर्षा मापन भएको विभागको तथ्यांकमा उल्लेख छ।

मौसम विज्ञानअनुसार ५० देखि १०० मिलिमिटर वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ। भारी वर्षाका कारण कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम बढेको विभागले जनाएको छ। विभागले ती क्षेत्रका नदी तथा खोला आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्