काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित ७०६ जना स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रबाट बिहीबार दिउँसोसम्म ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये भारतका २९, जर्मनीका ४, चीनका ४, कोरियाका २ र ओमानका १ जना नागरिक रहेका छन् । बाढी प्रभावित क्षेत्रमा अझै उद्धारको आवश्यकता रहेकाले सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ । बाढी प्रभावित जिल्लामा ४ हजार ५०० भन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले संयुक्त रूपमा प्रभावित क्षेत्रमा घाइते तथा सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन् ।
यसैबीच, बाढीमा परी ज्यान गुमाउनेको संख्या पनि लगातार बढिरहेको छ । बिहीबार दिउँसो ३ बजेसम्म ५४७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । रसुवादेखि नवलपरासी पश्चिमसम्मका विभिन्न नदी तथा तटीय क्षेत्रमा शव भेटिने क्रम जारी रहेको छ । प्रहरीका अनुसार हालसम्म रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । बाढीको बहावसँगै नदी तथा तटीय क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाउँदै सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको छ ।



