भोटेकोशीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बन्यो ताल, फुट्ने जोखिम

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीको घटनास्थलभन्दा माथिल्लो क्षेत्रमा नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै भू-उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणका आधारमा नदी थुनिएर ताल बनेको जानकारी दिएको हो ।

चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार उक्त क्षेत्रमा बनेको ताल निरन्तर बढिरहेको र फुट्ने जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ । यसले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावना बढाएको छ । महाशाखाले ताल फुटेमा भोटेकोशी नदीको बहाव एक्कासि बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा, यात्रु तथा उद्धार र राहत कार्यमा खटिएका सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको अनिवार्य पालना गर्न महाशाखाले अनुरोध गरेको छ । यसअघि चीनको तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा समेत परेको थियो । नदी थुनिएर बनेको ताल फुट्ने जोखिम देखिएपछि भोटेकोशीको तल्लो तटीय क्षेत्रमा थप जोखिम बढेको भन्दै प्रशासन तथा सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्