काठमाडौं – भोटेकोशी नदीमा आएको अविरल वर्षा र विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National PABSAN), काठमाडौं जिल्ला समितिले गहिरो दुःख व्यक्त गरेको छ। नेशनल प्याब्सान काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिमा विपद्मा बेपत्ता भएका नागरिकको तत्काल खोज तथा उद्धार, घाइतेहरूको शीघ्र र प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई राहत, सुरक्षित बसोबास र पुनःस्थापनाको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ। बाढी तथा पहिरोका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएको र कतिपय विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेकोप्रति पनि नेशनल प्याब्सानले विशेष दुःख व्यक्त गरेको छ। विद्यालय भौतिक संरचना मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने सुरक्षित र संवेदनशील थलो भएको उल्लेख गर्दै प्रभावित विद्यालयमा शैक्षिक गतिविधि पुनः सञ्चालनका लागि आवश्यक समन्वय र सहयोग गर्न नेशनल प्याब्सान प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।
त्यसैगरी, देशका विभिन्न स्थानबाट भ्रमणमा गएका स्वदेशी तथा विदेशी पर्यटकसमेत विपद्मा प्रभावित भएको घटनाप्रति पनि नेशनल प्याब्सानले दुःख व्यक्त गरेको छ। नेपाल भ्रमणका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवार र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। विपद्को कठिन घडीमा प्रभावित परिवार, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय, स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग र समन्वयका लागि ऐक्यबद्धता प्रकट गरिएको छ।
नेशनल प्याब्सान काठमाडौं जिल्ला समितिले सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, विद्यालय समुदाय तथा नागरिक समाजलाई एकताबद्ध भएर उद्धार, राहत र पुनःस्थापनामा हरसम्भव सहयोग गर्न आह्वान गरेको छ। प्रभावित विद्यालय तथा विद्यालय परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन नेशनल प्याब्सानका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय समितिसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ। विज्ञप्तिको अन्त्यमा “सतर्क रहौँ, सुरक्षित रहौँ र विपदमा परेकालाई सहयोग गर्न हातेमालो गरौँ” भन्ने आह्वान गरिएको छ।




