रसुवा बाढीपीडितका लागि नेपाली सेनाको ८ ट्रकमा झण्डै ८ टन राहत सामग्री पठाइयो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाले ८ वटा ट्रकमार्फत झण्डै ८ टन राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएको छ । सेनाका ट्रकहरू बिहीबार राति नै आवश्यक राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

बाढीपीडितलाई तत्काल मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले पठाइएको राहत सामग्रीमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटर रहेका छन् । बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धारसँगै राहत तथा पुनःस्थापनाका कामलाई समेत तीव्रता दिइएको छ ।

यसैबीच, रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । यसअघि भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो ।

विदेशमन्त्री जयशङ्करले बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली नागरिकको साथमा रहेको बताउनुभएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकार तथा सुरक्षा निकायसँगै विभिन्न मित्रराष्ट्र र संघसंस्थाबाट समेत सहयोग जुट्न थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्