रसुवा-नुवाकोटका जलविद्युत् आयोजनाका १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणले अद्यावधिक गरेको विवरणअनुसार रसुवागढी जलविद्युत् आयोजनाका ९२ जना सबैभन्दा बढी सम्पर्कविहीन छन्। त्यस्तै त्रिशूली-३ बीको निर्माणस्थलमा कार्यरत २१, त्रिशूली-३ ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मतमा संलग्न ४५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्रबाट १ जना सम्पर्कविहीन छन्। त्रिशूली-३ बी आयोजनाको साइटमा कार्यरत थप ११ जना पनि बेपत्ता रहेको विवरणमा उल्लेख छ। त्यस्तै त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रका १/१ जना कर्मचारी, चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक कर्मचारी तथा एक मिटर रिडरसमेत सम्पर्कबाहिर छन्।

यसैगरी त्रिशूली २२० केभी ३ बी सबस्टेसनमा ठेकेदारमार्फत कार्यरत १६ जना कामदार समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क तथा आवतजावतमा समेत कठिनाइ भएकाले सम्पर्कविहीन कर्मचारीको अवस्था तत्काल यकिन गर्न समस्या भइरहेको छ। सुरक्षा निकाय तथा सम्बन्धित आयोजनाहरूले खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर प्रयास जारी राखेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्