रसुवा बाढीपछि प्याब्सनको अपिल: उद्धार, राहत र पुनःस्थापनामा जुटौँ

काठमाडौं – भोटेकोशी नदीमा आएको अकस्मात् विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ। प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार, घाइतेको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई राहत, सुरक्षित बसोबास र पुनःस्थापनाको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

अध्यक्ष अधिकारीले विपद्को समयमा मानवीय उद्धार र नागरिकको जीवनरक्षा सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो। उहाँले प्रभावित क्षेत्रमा रहेका विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको अवस्थाबारे तत्काल जानकारी लिएर आवश्यक सहयोग र सुरक्षा व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो। “विद्यालय भौतिक संरचना मात्रै होइन, बालबालिकाको भविष्य निर्माण गर्ने सुरक्षित स्थान हो। बाढीबाट विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन तत्काल वैकल्पिक व्यवस्था र पुनःनिर्माणमा विशेष ध्यान दिनुपर्छ,” अध्यक्ष अधिकारीले भन्नुभयो। प्याब्सनले बाढीबाट विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएको र कतिपय विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेको भन्दै विशेष चिन्ता व्यक्त गरेको छ। प्रभावित विद्यालयको शैक्षिक गतिविधि यथाशीघ्र पुनःसञ्चालन गर्न आवश्यक समन्वय तथा सहयोगका लागि प्याब्सन तयार रहेको जनाएको छ।

महासचिव आरबी कटवालले विपद्का कारण विद्यार्थीको पढाइसँगै उनीहरूको मानसिक तथा पारिवारिक अवस्थासमेत प्रभावित हुन सक्ने भएकाले विद्यालय सञ्चालनलाई केवल भवनको पुनःनिर्माणसँग मात्र जोड्न नहुने बताउनुभयो। “विद्यार्थी र शिक्षकको सुरक्षा सुनिश्चित गर्दै प्रभावित विद्यालयको शैक्षिक वातावरण सामान्य अवस्थामा फर्काउन स्थानीय तह, प्रदेश सरकार, विद्यालय व्यवस्थापन र प्याब्सनबीच समन्वय आवश्यक छ,” उहाँले भन्नुभयो। महासचिव कटवालले प्रभावित विद्यालय तथा विद्यालय परिवारको वास्तविक अवस्थाको पहिचान गरी प्रदेश तथा जिल्ला प्याब्सनमार्फत आवश्यक सहयोग र समन्वय अघि बढाइने जानकारी दिनुभयो। प्याब्सनले बाढीमा देशका विभिन्न स्थानबाट भ्रमणमा पुगेका नेपाली तथा विदेशी पर्यटकसमेत प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। नेपाल भ्रमणका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै तत्काल खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ।

विपद्को यस कठिन अवस्थामा सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, विद्यालय समुदाय तथा नागरिक समाज एकजुट भएर परिचालित हुनुपर्ने प्याब्सनको धारणा छ। प्रभावित नागरिकको उद्धारसँगै खाद्यान्न, स्वास्थ्य उपचार, सुरक्षित आवास तथा दीर्घकालीन पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिएको छ। प्याब्सनले प्रभावित विद्यालय तथा विद्यालय परिवारलाई आवश्यक सहयोग गर्न सम्बन्धित प्रदेश तथा जिल्ला प्याब्सनसँग समन्वय गरी सक्दो पहल गर्ने जनाएको छ। साथै, देशभरका विद्यालय तथा विद्यालय समुदायलाई पनि विपद्मा परेका नागरिकको सहयोगमा हातेमालो गर्न अपिल गरिएको छ।

“विपद्को समयमा सबैभन्दा ठूलो जिम्मेवारी मानवीय संवेदनाको हो। प्रभावित विद्यार्थी, शिक्षक, परिवार र समुदायलाई एक्लो महसुस हुन नदिई आवश्यक सहयोग पुर्‍याउन प्याब्सन प्रतिबद्ध छ,” महासचिव कटवालले भन्नुभयो। प्याब्सनले विपद्को जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपासमा अनावश्यक आवतजावत नगर्न, स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट सुरक्षित रहनसमेत सबैमा आग्रह गरेको छ। “सतर्क रहौँ, सुरक्षित रहौँ र विपद्मा परेकालाई सहयोग गर्न हातेमालो गरौँ” भन्ने सन्देशसहित प्याब्सनले प्रभावित सम्पूर्ण परिवार, विद्यार्थी, शिक्षक, विद्यालय समुदाय तथा स्वदेशी–विदेशी नागरिकप्रति ऐक्यबद्धता प्रकट गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्