रसुवा बाढीप्रति नेपाल व्यापार संघको गहिरो दुःख, तत्काल उद्धार र राहतमा जोड

काठमाडौं – रसुवाको टिमुरे, स्याफ्रुबेंसीलगायत क्षेत्रमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति नेपाल व्यापार संघले गहिरो दुःख व्यक्त गरेको छ।संघका अध्यक्ष गिरिराज पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीबाट स्थानीय बस्ती, घर, भवन, सडक तथा सरकारी एवं सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको र केही व्यक्ति सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

संघले सम्पर्कविहीन व्यक्तिको तत्काल खोजी तथा उद्धार गर्न, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। बाढी प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

त्यस्तै, भोटेकोशी, त्रिशूली तथा मुग्लिन–नारायणी नदीको तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक आवतजावत नगर्न र प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न संघले आग्रह गरेको छ।

नेपाल व्यापार संघले रसुवाको टिमुरे, स्याफ्रुबेंसीलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै राहत तथा उद्धारका लागि उपाध्यक्ष सागर पौडेलको संयोजकत्वमा प्राकृतिक विपत्ति राहत कोष समिति गठन गरेको महासचिव ज्योति कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रिय विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले संघले राहत तथा उद्धारमा सक्रिय भूमिका निर्वाह गर्नेछ भने संघद्वारा पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम हालका लागि स्थगित गरिएको छ। उहाँले विपत्तिको समयमा सबै एकजुट भई प्रभावित नागरिकको साथमा उभिनसमेत आग्रह गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्