काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट सिर्जित विपत्तिको सामना गर्न सबै पक्ष एकजुट भएर उद्धार, खोज तथा राहतमा जुट्न आग्रह गर्नुभएको छ। रसुवामा आएको बाढीबाट भएको क्षति तथा प्रभावितको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको थियो।
बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो। छलफलमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै उद्धार तथा राहतमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा सरकार मात्र नभई सबै राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा नागरिक समाज आ–आफ्नो ठाउँबाट प्रभावित क्षेत्रमा परिचालित हुनुपर्ने बताउनुभयो। उहाँले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार, खोजी तथा राहत वितरणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ।



