काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनाका लागि तत्काल आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढीमा परी घाइते भएकाहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।
उनका अनुसार घाइतेहरूको उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
बैठकले बाढीका कारण जोखिममा परेका तथा बिचल्लीमा परेका नागरिकको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरलगायत आवश्यक सबै साधन प्रयोग गर्ने निर्णयसमेत सरकारले गरेको छ।
सरकारले उद्धार कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्रीलाई हेलिकप्टरसहित उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न निर्देशन दिएको प्रवक्ता पोखरेलले बताए।
त्यस्तै, बाढीका कारण घरबास गुमाएका परिवारको व्यवस्थापनका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक व्यवस्था मिलाउन जिम्मेवारी दिइएको छ।
बाढीका कारण अवरुद्ध भएका सडक तथा खानेपानी सेवा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई आवश्यक पहल गर्न सरकारले निर्देशन दिएको छ। त्यसैगरी अवरुद्ध विद्युत् आपूर्ति तत्काल सुचारु गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई पनि सरकारले प्रचलित कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अत्यावश्यक सेवा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै तत्काल आवश्यक कदम चाल्ने जनाएको छ।



