काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो कारोबार दिन घटेको छ। आज नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा झरेको हो।
आज विकास बैंक र निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहका उपसूचक घटेका छन्। बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको शेयर मूल्य घट्दा ७९ कम्पनीको बढेको छ भने १२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।
आज धौलागिरि लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ। बजार समग्रमा ओरालो लागे पनि सर्वोत्तम पेन्ट्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने १५ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ। बुधबार ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३५७ कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीमा किनबेच भएका छन्।
लगातार तीन कारोबार दिनदेखि बजारमा गिरावट देखिए पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता भने कायम रहेको देखाएको छ।



