बडीमालिकामा पुग्यो फोर-जी, चार हजार दुई सय मिटर उचाइमा सञ्चारको पहुँच

बाजुरा । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बडीमालिका क्षेत्रमा पहिलोपटक मोबाइल तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि बडीमालिका क्षेत्रमा सञ्चार सेवा सञ्चालनमा आएको हो। समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा जनैपूर्णिमाको धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएको हो। यससँगै बडीमालिका पुग्ने तीर्थयात्री, पर्यटक, स्थानीयवासी तथा सरकारी निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

बडीमालिका क्षेत्रमा करिब ४ हजार २३० मिटर उचाइमा पर्ने लौरी विनायकमा टावर स्थापना गरिएको नेपाल टेलिकमले जनाएको छ। अत्यन्त विकट भूगोल र प्रतिकूल मौसमका बीच प्राविधिक टोलीले करिब एक महिनाको प्रयासपछि टावर जडान गरी फोर–जी सेवा सञ्चालनमा ल्याएको हो। सेवा सञ्चालनको भर्चुअल उद्घाटन गर्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुन नपर्ने बताउनुभयो। उहाँले दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।

टावर निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री सडकमार्फत लैजान कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सामग्री ढुवानी गरिएको थियो। सेवा सञ्चालनपछि मन्त्री तिमिल्सिनाले बडीमालिकामा खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरी सेवा सञ्चालनको अवस्थाबारे जानकारीसमेत लिनुभएको थियो। नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तार कम्पनीको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँका अनुसार व्यावसायिक लाभभन्दा सञ्चार पहुँच कमजोर रहेका क्षेत्रका नागरिकलाई सेवा पुर्‍याउने जिम्मेवारीलाई समेत टेलिकमले प्राथमिकता दिएको छ।

बडीमालिकामा स्थायी बस्ती कम भए पनि धार्मिक तथा पर्यटकीय गतिविधिका कारण यहाँ वर्षेनी ठूलो संख्यामा तीर्थयात्री तथा पर्यटक पुग्ने गर्छन्। मोबाइल तथा इन्टरनेट सेवा पुगेपछि आपत्कालीन उद्धार, सुरक्षा, पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीको सञ्चार सम्पर्कमा समेत सहजता आउने अपेक्षा गरिएको छ। नेपाल टेलिकमले यसअघि जुम्लाको सिँजा, डोल्पा र ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा समेत फोर–जी सेवा विस्तार गरिसकेको छ। सगरमाथा आधार शिविरलगायत अन्य दुर्गम तथा पर्यटकीय क्षेत्रमा सेवा विस्तारका लागि समेत अध्ययन अघि बढाइएको टेलिकमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्