काठमाडौं – नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा नियुक्त गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले अवस्थीलाई नायब सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा करिब साढे दुई दशकको अनुभव बोकेका अवस्थीले यसअघि नबिल बैंकमै विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ सम्बन्धी कोर्ससमेत पूरा गरेका छन्। उनी करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए। बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका अवस्थीलाई अपरेसन, जोखिम व्यवस्थापन तथा कर्जा शाखा व्यवस्थापनमा दक्ष अधिकारीका रूपमा चिनिन्छ।
नायब सीईओको नयाँ जिम्मेवारीसँगै अवस्थीको बैंकिङ अनुभव र व्यवस्थापकीय क्षमताले नबिल बैंकको आगामी रणनीति तथा सञ्चालनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।



