कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ र विपक्षमा २२ मत

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत परेको छ । मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले) का ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । दुवै दलका सबै उपस्थित प्रदेशसभा सदस्यले उहाँको पक्षमा मतदान गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका २९ प्रदेशसभा सदस्यमध्ये २२ जनाले विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच प्रदेशसभा सदस्य मतदानमा सहभागी भएनन् । जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य निर्मला लिम्बु भने प्रदेशसभा बैठकमा उपस्थित हुनुभएन ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन् । सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई प्रदेशसभाको समर्थन कायम भएको छ । पछिल्लो राजनीतिक समीकरणका बीच मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएसँगै प्रदेश सरकारलाई निरन्तरता दिने बाटो थप सहज भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्