काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच नेपालको शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपाल-स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने नयाँ क्षेत्रबारे छलफल भएको हो ।
भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट) क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले टिभेटसम्बन्धी ऐन अहिले छलफलको क्रममा रहेको जानकारी दिँदै टिभेट क्षेत्रमा सुशासन सुधारका लागि सबै सरोकारवालासँग निरन्तर छलफल गरेर अघि बढ्ने बताए ।
टिभेट क्षेत्रको व्यवस्थापन तथा सुशासन सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि प्राथमिकता दिइने भन्दै मन्त्री पोखरेलले यसका लागि स्वीस सरकारसँग थप सहकार्य गर्न सकिने धारणा राखे । भेटमा कार्यवाहक राजदूत मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबीच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए ।
नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण अन्य देशको तुलनामा राम्रो रहेको र यस क्षेत्रसँग सम्बन्धित तथ्यांकसमेत उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुनेमा आफू आशावादी रहेको राजदूत मायरले बताए । भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई थप प्रभावकारी, रोजगारमुखी र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित बनाउने विषयमा सहकार्यको सम्भावनाबारे समेत छलफल भएको थियो ।



