काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलपछि सरकार र बालिकाका अभिभावकबीच सहमति भएको हो । सहमतिअनुसार जघन्य अपराधमा विद्यमान कसुर तथा सजायसम्बन्धी कानुनी व्यवस्था पुनरावलोकन गरी आवश्यक कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र तयार गरिने भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय ‘न्याय सङ्कल्प समिति’ गठन गर्नेछ ।
त्यस्तै, पीडित परिवारको मागअनुसार बालिकाको शालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले सम्बन्धित पालिकासँग समन्वय गरी आवश्यक पहल गर्ने सहमति भएको छ । बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि गर्न पाउने विषयमा पनि सरकार र परिवारबीच सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुनमन्त्री सोविता गौतम, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन् । पीडित परिवारका तर्फबाट बालिकाका आमाबुबाले हस्ताक्षर गरेका छन् ।
गत साउन ३१ गतेदेखि बेपत्ता रहेकी बालिकाको भदौ २ गते शव भेटिएको थियो । घटनापछि पीडित परिवार तथा स्थानीयले दोषीलाई कडा कारबाही र न्यायको माग गर्दै आन्दोलन गर्दै आएका थिए । सरकारसँग वार्ता गर्न पीडित पक्षको टोली बाराबाट काठमाडौं आएको थियो । सरकारसँग भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउने तथा पीडित परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




