काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सबाट पोलिसी धितो राखेर ऋण लिएका एक बिमितले ऋणको साँवाब्याज चुक्ता गरेको दुई महिना बितिसक्दा पनि पोलिसी बुक फिर्ता नपाएको गुनासो गरेका छन्। ऋण असुलीमा पटक–पटक फोन र म्यासेजमार्फत ताकेता गर्ने कम्पनीले ऋण चुक्ता भएपछि भने बिमितको महत्वपूर्ण कागजात फिर्ता गर्न आलटाल गरेको पाइएको छ ।
बिमितका अनुसार कम्पनीले ऋण चुक्ता गरिसकेपछि रकम बुझाएको रसिदसमेत दिएको छ। तर, ऋणको धितोका रूपमा राखिएको पोलिसी बुक भने अहिलेसम्म फिर्ता गरिएको छैन। दुई महिनासम्म पनि पोलिसी बुक नदिनुलाई बिमितले सिटिजन लाइफको खुला बदमासी भएको बताएका छन्।
पोलिसी बुक माग्न जाँदा कहिले ‘प्रधान कार्यालयमा छ’ भन्दै शाखाबाट फर्काउने र प्रधान कार्यालयमा सम्पर्क गर्दा ‘शाखामा पठाइसकिएको छ’ भन्दै उतै पठाउने गरेको बिमितको आरोप छ। यसरी एउटै कागजात लिन बिमितलाई पटक–पटक शाखा र प्रधान कार्यालय धाउनुपर्ने अवस्था सिर्जना गरिएको छ।
ऋण तिर्न ताकेता, कागजात फिर्ता गर्न बेवास्ता
ऋण लिएको समयमा भने कम्पनीबाट नियमित रूपमा म्यासेज तथा फोनमार्फत रकम भुक्तानीका लागि ताकेता हुने गरेको बिमितको भनाइ छ। तर, साँवा–ब्याजसहित सम्पूर्ण ऋण चुक्ता गरिसकेपछि आफ्नो पोलिसी बुक फिर्ता माग्दा कम्पनीले बेवास्ता गरेको उनको गुनासो छ। पोलिसी बुक सामान्य कागजात मात्र होइन। यसमा बिमितको पोलिसी नम्बर, बीमाङ्क, बीमा अवधि, शर्त तथा अन्य महत्वपूर्ण विवरण रहने भएकाले बिमितका लागि यसको ठूलो महत्व हुन्छ। बीमासम्बन्धी विवरण पुष्टि गर्न तथा आवश्यक प्रक्रियामा समेत पोलिसीसम्बन्धी मूल कागजात महत्वपूर्ण हुने भएकाले कम्पनीले यस्तो कागजात लामो समयसम्म रोकिराख्नु गम्भीर विषय हो।
‘ऋण तिर्न एक दिन ढिला हुँदा पनि फोन र म्यासेज गरेर हैरान पार्ने कम्पनीले ऋण चुक्ता गरेपछि आफ्नो कागजात फिर्ता गर्न दुई महिना किन लगाउँछ ?’ बिमितको प्रश्न छ। ऋण चुक्ता भएको प्रमाणका रूपमा रसिद दिइसकेको अवस्थामा धितोका रूपमा राखिएको पोलिसी बुक फिर्ता नगर्नुको कारण कम्पनीले स्पष्ट पार्नुपर्ने देखिन्छ। बिमितले आफ्नो कागजात तत्काल फिर्ता गर्न माग गरेका छन्।
सिटिजन लाइफको यस्तो व्यवहारले ग्राहक सेवा र बिमितप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। पैसा असुल्न सक्रिय हुने तर बिमितको आफ्नै कागजात फिर्ता गर्न दुई–दुई महिनासम्म आलटाल गर्ने प्रवृत्तिले कम्पनीप्रति बिमितको विश्वासमै असर पार्न सक्ने देखिन्छ। ऋण चुक्ता भइसकेपछि पनि पोलिसी बुक रोकिराख्नुको वास्तविक कारण के हो ? दुई महिनासम्म बिमितको कागजात किन फिर्ता भएन ? अब सिटिजन लाइफले यसको जवाफ दिनुपर्ने भएको छ। साथै, नियामक निकायले समेत यस्ता गुनासोप्रति गम्भीर ध्यान दिनुपर्ने देखिन्छ।



