काठमाडौं – नेपाल व्यापार संघको आयोजनामा हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा भव्य तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ। संघका अनुसार कार्यक्रम २०८३ भदौ १३ गते शनिबार काठमाडौंको गौशालास्थित होटल पौवा प्रालिमा आयोजना हुनेछ। कार्यक्रमको अध्यक्षता नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलले गर्नेछन् भने कार्यक्रम संयोजकको जिम्मेवारी संघका प्रथम उपाध्यक्ष पार्वती पौडेल भट्टले गर्नुहुनेछ ।
तीज पर्वको मौलिकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षण गर्दै आपसी एकता तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ। कार्यक्रममा संघमा आबद्ध पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायी तथा महिला दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, तीज गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै आपसी भेटघाट र शुभकामना आदानप्रदान गरिनेछ। संघले तीजलाई केवल मनोरञ्जनको पर्वका रूपमा नभई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिएको छ।
नेपाल व्यापार संघले सम्पूर्ण पदाधिकारी, सदस्य, व्यवसायी तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई तीजको सांस्कृतिक उत्सवलाई थप भव्य र सभ्य बनाउन आग्रह गरेको छ। संघले सबै नेपाली दिदीबहिनी तथा शुभेच्छुकहरूमा तीजको हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।
कार्यक्रम संयोजक पार्वती पौडेल भट्टले “हरितालिका तीज हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण पर्व हो। यही मौलिकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै आपसी सद्भाव तथा आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल व्यापार संघले तीज विशेष कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा संघमा आबद्ध सम्पूर्ण पदाधिकारी, सदस्य, व्यवसायी तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छौँ। तीजलाई भड्किलोभन्दा पनि मौलिक, सभ्य र संस्कृतिमैत्री रूपमा मनाउँदै नयाँ पुस्तालाई समेत हाम्रो परम्परा र संस्कृतिसँग जोड्ने प्रयास गर्नेछौँ। सम्पूर्ण दिदीबहिनी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन हार्दिक निमन्त्रणा गर्दछु।”



