काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा ११ जना व्यक्ति र पाँचवटा आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई टुक्र्याएर प्रतिस्पर्धा सीमित गरेको पाइएको छ। एउटै प्रकृतिको वस्तु खरिदलाई पटक–पटक विभाजन गरी आपूर्तिकर्तासँगको मिलेमतोमा भुक्तानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजयकुमार यादव, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सब–इन्जिनियर विपिनकुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादव र तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादवलगायत ११ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।
त्यसैगरी अनियमित खरिद प्रक्रियामा संलग्न रहेको आरोपमा पाँचवटा आपूर्तिकर्ता कम्पनीलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ। अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय तथा बिगो असुलउपरको मागदाबी गरेको जनाएको छ।



