सहिद घोषणा र पोस्टमार्टमको विवादले रविन्द्र मेहताको शव एक सातादेखि अस्पतालमै

 

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको शव एक सातादेखि अस्पतालमै रहेको छ। साउन १९ गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा घाइते भएका मेहताको उपचारका क्रममा मृत्यु भएको थियो।

सरकार र मृतक परिवारबीच सहमति जुट्न नसक्दा उनको शवको पोस्टमार्टम हुन सकेको छैन। मृतक परिवारले पोस्टमार्टमअघि नै रविन्द्रलाई सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन्। तर सरकारले सहिद घोषणा गर्न निश्चित कार्यविधि पूरा गर्नुपर्ने भन्दै पोस्टमार्टमपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताउँदै आएको छ।

मृतकको शरीरमा गोली लागेको र त्यसको ब्यालिस्टिक परीक्षण पहिले गर्नुपर्ने परिवारको माग छ। परिवारसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ साउन १९ गते शिक्षण अस्पताल पुगेका थिए भने त्यसपछि गृह मन्त्रालयमा समेत छलफल भएको थियो। लगातार छलफल भए पनि सहिद घोषणा र घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने परिवारको मागमा सहमति जुट्न नसकेको सुनसरी–२ का सांसद लालविक्रम थापाले बताएका छन्।

सरकारले सुनसरी र सिराहामा भएका घटनामा मृत्यु भएका सबैलाई एकैपटक सहिद घोषणा गर्ने धारणा राखेको छ भने रविन्द्रका परिवारले पहिले नै सहिद घोषणा गरेपछि मात्र अन्य प्रक्रिया अघि बढाउने अडान लिएका छन्। पछिल्लो समय सुनसरी र सिराहामा भएको झडपमा रविन्द्रसहित कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिराहाको औरही गाउँपालिकाका गणेश यादव गरी चार जनाको मृत्यु भएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्