काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सोमबारदेखि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। यसअघि सबै राजदूतसँग सामूहिक भेटवार्ता गरेका प्रधानमन्त्री शाहले अब भने विभिन्न देशका राजदूतसँग व्यक्तिगत रूपमा भेटघाट गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्। त्यसपछि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट गर्ने र क्रमशः अमेरिका लगायत अन्य देशका राजदूतसँग पनि भेटवार्ता गर्ने तयारी छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि विभिन्न देशका राजदूतहरूले शुभकामना तथा बधाई दिन छुट्टाछुट्टै भेटका लागि समय माग गरेका थिए। तर प्रधानमन्त्री शाहले सुरुमा व्यक्तिगत भेटवार्तालाई प्राथमिकता नदिई चैत २५ गते विभिन्न देशका राजदूत तथा नियोग प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। उक्त भेटमा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारे जानकारीसमेत गराइएको थियो।
यसअघि भारत, चीन, अमेरिका, बेलायत, जापान, कतार, फ्रान्स, जर्मनीलगायत विभिन्न देशका राजदूत तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग सामूहिक भेटवार्ता भइसकेको छ। यस्तै, जेठ १२ गते नेपालस्थित युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग पनि सामूहिक भेटवार्ता गरिएको थियो।
सामूहिक भेटपछि पनि कतिपय राजदूतले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै भेटका लागि समय माग गरे पनि उनले समय नदिएको बताइएको थियो। विदेशबाट आएका उच्चस्तरीय कूटनीतिज्ञसँगको भेटमा समेत प्रधानमन्त्री शाहले अनिच्छा देखाउँदै आएको स्रोतको भनाइ छ।
प्रधानमन्त्रीको कूटनीतिक भेटघाटको अभावले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्न सक्ने भन्दै विभिन्न तहबाट उनलाई भेटघाटलाई प्राथमिकता दिन सुझाव दिइँदै आएको थियो। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल पनि नेपालको कूटनीतिक सम्बन्धलाई सक्रिय बनाउन लागिपरेका छन्।
प्रधानमन्त्री शाहलाई भारत र चीनबाट विदेश भ्रमणका लागि निमन्त्रणा आएको बताइएको छ। यद्यपि उनले हालसम्म विदेश भ्रमण गर्नेबारे निर्णय गरेका छैनन्। राजदूतहरूसँगको छुट्टाछुट्टै भेटवार्ताले आगामी दिनमा प्रधानमन्त्रीको विदेश भ्रमण तथा नेपालको कूटनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।



