बम्पर उपहारमा १० लाख जितेका हेमराजलाई अर्थमन्त्री वाग्लेको फोन, रुपन्देहीकी सपनाले जितिन् एक लाख

 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा विजेता बनेका कञ्चनपुर पुनर्वासका हेमराज जोशी र रुपन्देहीकी सपना खरेललाई फोनमार्फत बधाई दिनुभएको छ।

आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन कार्यक्रमको नतिजा सार्वजनिक गर्दै १५ जनालाई जनही एक लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गर्ने विजेता छनोट गरेको हो। सोही क्रममा १० लाख रुपैयाँको बम्पर उपहार विजेता बनेका जोशीलाई अर्थमन्त्री वाग्लेले फोन गरी बधाई दिनुभएको हो।

जोशीले साउन ७ गते २५० रुपैयाँको सामान अनलाइन बैंकिङमार्फत क्यूआर स्क्यान गरी खरिद गर्नुभएको थियो। उक्त खरिदकै आधारमा उहाँ १० लाख रुपैयाँको बम्पर उपहार विजेता बन्नुभएको हो। जोशीले शिवकृष्ण जेनरल स्टोर्सबाट सामान खरिद गर्नुभएको थियो।

त्यस्तै, रुपन्देहीकी सपना खरेलले एक लाख रुपैयाँको उपहार जित्नुभएको छ। उहाँले साउन ९ गते देवदह नगरपालिका–मिलनचोकस्थित शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी खरिद गर्नुभएको थियो। अर्थमन्त्री वाग्लेले फोनमार्फत बधाई दिँदा खरेलले सुरुमा आफूले पुरस्कार जितेको विश्वास नै गर्नुभएको थिएन।

सरकारले साउन १ गतेदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुने व्यवस्था गरिएको छ भने खरिद गर्दा भ्याट वा प्यान बिल अनिवार्य रूपमा लिनुपर्नेछ। नगद कारोबार गर्ने उपभोक्ताले भने सक्कल भ्याट वा प्यान बिल आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा दर्ता गर्नुपर्ने व्यवस्था छ।

कार्यक्रमअन्तर्गत हरेक दिन एक जनालाई करकट्टीपछि एक लाख रुपैयाँ र प्रत्येक १५ दिनमा दुई जनालाई १०–१० लाख रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने व्यवस्था गरिएको छ। विजेतालाई आन्तरिक राजस्व विभागले सम्पर्क गरी पुरस्कारसम्बन्धी थप जानकारी उपलब्ध गराउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्