काठमाडौं – सुदूरपश्चिम प्रदेशको कैलालीमा करिब एक अर्ब रुपैयाँ बराबरको काठ अवैध रूपमा कटान गरी बिक्रीवितरण गर्न खोजिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।
मंगलबार अख्तियारको कञ्चनपुरस्थित टोलीले डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरमा पुगेर काठको लिलाम तथा बिक्रीसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो। ठूलो परिमाणमा अवैध रूपमा काठ लिलाम गरी बिक्री गर्न खोजिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा सामुदायिक वन, केही काठ व्यवसायी र वन कर्मचारीबीचको मिलेमतोमा तस्करीको योजना बनाइएको देखिएको छ। अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुर, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायको संलग्नता देखिने प्रारम्भिक प्रमाण फेला परेको स्रोतले जनाएको छ।
अख्तियारका अनुसार कैलालीका करिब एक दर्जन सामुदायिक वनबाट एक लाख २३ हजार क्युबिक फिट तथा पहलमानपुर क्षेत्रबाट दुई लाख २२ हजार क्युबिक फिट काठ निकाल्ने तयारी गरिएको थियो। दुवै क्षेत्रको काठको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी हुने प्रारम्भिक अनुमान गरिएको छ।
अनुसन्धानमा हरिया रुखमा किरा लागेको भन्दै झुटो प्राविधिक सिफारिस तयार गरी सग्ला खयरका रुख कटानका लागि कागजात बनाइएको र सीमित व्यापारीलाई लाभ पुग्ने गरी लिलाम प्रक्रिया अघि बढाइएको आशंका गरिएको छ।
यसअघि सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले स्थलगत निरीक्षणपछि छानबिन नसकिउन्जेल काठको लिलाम रोक्न निर्देशन दिएको थियो। सोही क्रममा अख्तियारले आवश्यक कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।



