देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिम

काठमाडौं – मनसुन सक्रिय रहेकाले आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर बदली रहने र विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने जनाएको छ। महाशाखाका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसतभन्दा केही माथि र पूर्वतर्फ औसतकै आसपास रहेकाले वर्षा जारी रहने अनुमान गरिएको हो।

आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ। कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमाली जिल्लाका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग, लुम्बिनी प्रदेशको तराई तथा देशका विभिन्न पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थान, कोशी, मधेश र कर्णालीका विभिन्न क्षेत्रमा पनि वर्षाको क्रम जारी रहने सम्भावना छ। मौसमविद्हरूले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो, डुबान, गेग्रान बहाव र भूक्षयको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्