काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा असार १६ गते सुनुवाइ हुने भएको छ। पौडेलकी पत्नी दोमाया पौडेलले असार १० गते उहाँलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ। साथै, रिटमाथिको विस्तृत सुनुवाइ असार १६ गतेका लागि तोकिएको अदालतले जनाएको छ। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि असार ९ गते उहाँलाई विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। हाल उहाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान गरिरहेको छ।





