मनसुन भित्रिए पनि वर्षा भएन, तराईमा अत्यधिक गर्मीको चेतावनी

काठमाडौं – नेपालमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविदहरूले बताएका छन्। मौसमविदका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना छ।

मौसमविद उज्वल उपाध्यायका अनुसार कम्तीमा बिहीबारसम्म देशका अधिकांश तराई क्षेत्रमा उल्लेखनीय वर्षा हुने सम्भावना न्यून छ। “पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका तराई जिल्लाहरूमा वर्षाको सम्भावना अत्यन्त कम छ र गर्मी बढ्ने संकेत देखिएको छ,” उहाँले भन्नुभयो। काठमाडौं उपत्यकामा पनि बुधबार र बिहीबार मौसम मुख्यतः सुक्खा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको प्रभाव देखिन सक्नेछ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।

यस वर्षको मनसुन सरदर समयभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि असार ८ गतेसम्म मनसुन मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा फैलिएको भए पनि यसको प्रभाव कमजोर रहेकाले पर्याप्त वर्षा हुन सकेको छैन।

हाल कोशी, मधेश र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही भागमा पनि मनसुनी प्रणाली सक्रिय छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविदहरूले अत्यधिक गर्मी र तातो लहरको सम्भावना रहेकाले विशेषगरी तराई क्षेत्रका बासिन्दालाई पर्याप्त पानी पिउन, दिउँसोको चर्को घामबाट जोगिन तथा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्