काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिनुभएको छ । बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उहाँले पूर्वअर्थमन्त्रीहरूसँग बजेटका प्राथमिकता, चुनौती र सुधारका विषयमा छलफल गर्नुभएको हो ।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्रीहरूको अनुभव र मार्गदर्शनले बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले सुशासन, आर्थिक अनुशासन र जनताको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । अर्थमन्त्री वाग्लेले रामेश्वर खनाल, शङ्कर कोइराला, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, डा. प्रकाशशरण महत, वर्षमान पुन, विष्णुप्रसाद पौडेल र जनार्दन शर्मासँग सुझाव लिनुभएको थियो ।
छलफलमा पूर्वअर्थमन्त्रीहरूले सरकारी खर्च कटौती, आर्थिक अनुशासन, निजी क्षेत्र प्रोत्साहन, उद्योग विस्तार, पर्यटन प्रवर्द्धन, कर प्रणाली सुधार र विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । पूर्वसचिव रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न र तयारी पूरा नभएका आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो । उहाँले विद्युत् उत्पादन तथा व्यापारमा मूल्य अभिवृद्धि कर नलगाउन आग्रह गर्नुभयो । शङ्कर कोइरालाले निजी क्षेत्रलाई विद्युत् व्यापारमा खुला गर्न, औद्योगिक क्षेत्र विस्तार गर्न र वन क्षेत्रसम्बन्धी कानुनी जटिलता फुकुवा गर्न सुझाव दिनुभयो ।
डा. युवराज खतिवडाले बजेटलाई यथार्थपरक बनाउन आग्रह गर्दै राजनीतिक लोकप्रियताभन्दा आर्थिक अनुशासनमा केन्द्रित हुन सुझाव दिनुभयो । उहाँले राजस्व वृद्धिको लक्ष्य अत्यधिक महत्वाकाङ्क्षी नराख्न र राष्ट्रिय गौरवका आयोजनामा सुधार गर्नुपर्ने धारणा राख्नुभयो । डा. प्रकाशचन्द्र लोहनीले निजी क्षेत्रसँग सहकार्य बढाउँदै उद्योग र कृषि बजार विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । सुरेन्द्र पाण्डेले राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या सीमित गर्न, भूमि कानुन सुधार गर्न तथा सरकारी खर्च कटौती गर्न सुझाव दिनुभयो ।
डा. प्रकाशशरण महतले सम्पन्न वर्गलाई सामाजिक सुरक्षा भत्ता नदिने नीति ल्याउन र नेपाल एयरलाइन्सलाई निजीकरण मोडलमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । वर्षमान पुनले पर्यटन र औद्योगिक करिडोरलाई प्राथमिकता दिन तथा नेपाल वायुसेवा निगमलाई सुधार गर्न विशेष मोडालिटी तयार गर्न सुझाव दिनुभयो ।
विष्णुप्रसाद पौडेलले स्रोतको यथार्थ मूल्याङ्कनबिनै बजेट नबनाउन आग्रह गर्दै प्राकृतिक स्रोत उत्खनन र ठूला परियोजनालाई गति दिनुपर्ने बताउनुभयो । जनार्दन शर्माले सरकारी खर्च निर्ममतापूर्वक कटौती गर्न, खानी तथा पूर्वाधार क्षेत्रमा लगानी बढाउन र औषधी तथा मल उद्योगमा आत्मनिर्भरता हासिल गर्ने नीति लिनुपर्ने धारणा राख्नुभयो ।







