आइतबारदेखि मलमास अर्थात् अधिकमास सुरु हुने

काठमाडौं । भोलि आइतबारदेखि मलमास अर्थात् अधिकमास सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी असार १ गतेसम्म अधिकमास रहनेछ ।

ज्योतिषीय गणनाअनुसार प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा अधिकमास पर्ने गर्दछ । सौर र चान्द्र वर्षबीचको समय अन्तर मिलाउन अधिकमास राखिने परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन् । ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलका अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिन्छ । दुईवटा सङ्क्रान्ति परेको महिनालाई भने क्षयमास भनिने शास्त्रीय मान्यता रहेको उनले बताए ।

धर्मशास्त्रविद् देवमणि भट्टराईका अनुसार अधिकमासमा नित्य पूजा, जप, ध्यान, पाठ तथा पहिलेदेखि गरिँदै आएको व्रत गर्न मिल्ने भए पनि विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण तथा नयाँ शुभकार्य सुरु गर्न नहुने धार्मिक मान्यता छ ।

धार्मिक ग्रन्थअनुसार भगवान् श्रीकृष्णले मलमासलाई आफ्नै नामबाट “पुरुषोत्तममास” नाम दिएपछि यो महिना विशेष धार्मिक महत्त्वको मानिन्छ । यसैबीच, अधिकमासको अवसरमा आइतबारदेखि मच्छेनारायण मन्दिरमा मेला सुरु हुँदैछ । मलमासभर लाखौँ भक्तजन दर्शनका लागि मच्छेनारायण पुग्ने गर्दछन् । घनश्याम गिरीका अनुसार मलमास अवधिभर मन्दिरमा भगवान् नारायणको विशेष पूजा तथा पुरुषोत्तममास माहात्म्य वाचन गरिनेछ ।

पुराणअनुसार भगवान् विष्णुले दश अवतारमध्ये पहिलो अवतारका रूपमा मत्स्य अवतार धारण गरी वेदको रक्षा गरेको उल्लेख छ । यही कारण मच्छेनारायण मन्दिरको धार्मिक महत्त्व अझ विशेष मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्