प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम शुक्रबार उहाँलाई उक्त पदमा नियुक्त गरिएको हो। नियुक्तिसँगै दाहालले कार्यभारसमेत सम्हाल्नुभएको छ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले अब प्रधानमन्त्रीको सञ्चार रणनीति, मिडिया व्यवस्थापन तथा अनुसन्धानसम्बन्धी कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ। भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका विषयमा सक्रिय रहँदै आउनुभएको उहाँको अनुभवलाई सरकारको मुख्य प्रवाहमा जोड्ने उद्देश्यले नियुक्ति गरिएको जनाइएको छ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा २० वर्षभन्दा बढी व्यावसायिक अनुभव छ। उहाँ पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताका रूपमा कार्यरत हुनुहुन्थ्यो। यसैगरी, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आउनुभएकी दाहाल सञ्चार सीप र नेतृत्व विकाससम्बन्धी प्रशिक्षकसमेत हुनुहुन्छ।

‘कोभिड : नसोचेको, नभोगेको संकट’ पुस्तककी लेखिका दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारिता पुरस्कारबाट सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्